एसपी केसीको नेतृत्वमा बारामा तस्करीविरुद्ध सशस्त्रको तीव्र अभियान, करिब ५ लाख बराबरको अवैध सामान बरामद

समाचार

रसीद आलम

बारा, २२ साउन ।
सशस्त्र प्रहरी बल नेपाल बाराका प्रमुख एसपी खुम बहादुर केसीको सक्रिय नेतृत्वमा जिल्लामा तस्करी नियन्त्रण अभियान तीव्र बनाइएको छ। भारतसँग सिमाना जोडिएको बाराका विभिन्न सीमा क्षेत्रहरूमा सशस्त्रको टोलीले तस्करीविरुद्ध कडा निगरानी गर्दै करिब ५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बाराले दिएको जानकारी अनुसार, विभिन्न बीओपी तथा सुरक्षाबेसका टोलीहरूले विशेष सूचनाका आधारमा सीमामा गस्ती तथा चेकजाँचलाई सशक्त बनाउँदै तस्करी विरुद्धको कारबाहीलाई निरन्तरता दिइरहेका छन्।

बरामद भएका सामानको विवरण यस प्रकार रहेको छ:

१. वि.ओ.पी. सनफलुवाबाट खटिएको सशस्त्र प्रहरी टोलीले बारा जिल्लाको सुवर्णपुर वडा नं. ७ स्थित चौराहा सीमाक्षेत्रबाट रु. १,८३,३८० बराबरको किराना तथा लेडिज आईटमहरू बरामद गरेको हो।

२. वि.ओ.पी. गोलागञ्जको टोलीले सिम्रौनगढ नगरपालिका–९, पिठुवाघाट सीमाक्षेत्रबाट रु. १,१९,३०० बराबरको लेडिज आईटम बरामद गरेको छ।

३. जितपुर सुरक्षाबेसको टोलीले बीरगञ्ज–पथलैया सडकखण्डस्थित लल्कापुल क्षेत्रबाट रु. १,३०,००० बराबरको लेडिज आईटम बरामद गरेको छ।

४. सुरक्षा वेश कलैयाले पनि विशेष सूचनाको आधारमा अपरेशन गर्दै रु. ६७,५०० बराबरको किराना समान बरामद गरेको छ।

सशस्त्र प्रहरीले बरामद गरिएका सबै अवैध समानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेको जानकारी दिएको छ।

एसपी केसीका अनुसार सशस्त्र प्रहरी बल बाराले भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै भइरहेका तस्करीजन्य क्रियाकलापमाथि कडाइका साथ निगरानी गर्दै आएको छ। “तस्करीविरुद्धको अभियानमा कुनै सम्झौता हुँदैन,” एसपी केसीले बताए, “हाम्रो टोली निरन्तर गस्तीमा छ र सूचना प्राप्त भएलगत्तै कारबाहीका लागि सक्रिय रूपमा खटिने गर्दछ।”

उनले थपे, “देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने यस्ता गतिविधिको निर्मूलनका लागि हामी प्रतिबद्ध छौं र भविष्यमा थप प्रभावकारी रणनीतिसहित अघि बढ्नेछौं।”

तस्करी नियन्त्रणमा देखिएको यो सक्रियता सशस्त्र प्रहरी बलको प्रतिबद्धता र कार्यक्षमताको स्पष्ट उदाहरण हो, जसले सीमा सुरक्षाको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *