पर्सा, २५ असोज।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा चौकी (बिओपी) भिस्वाको टोलीले दुई लाख रुपैयाँ बराबरको अवैध चुरोट बरामद गरेको छ।
असोज २५ गते बिहान करिब ९:५० बजे जिल्ला पर्साको छिपहरमाई गाउँपालिका–स्थित भिस्वा सिमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो। प्रहरी निरीक्षक रोशन सिर्नेटको कमान्डमा खटिएको टोलीलाई देख्नासाथ एक व्यक्ति मोटरसाइकलमा चुरोट बोकी भारततर्फ लैजाँदै गर्दा फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
फरार व्यक्तिले छोडी गएको मोटरसाइकलमा सवार रही ल्याइरहेको दुई कार्टून (१०० बन्डल) सिखर ब्रान्डका चुरोट बरामद गरिएको हो। बरामद गरिएको चुरोटको मूल्य करिब दुई लाख रुपैयाँ बराबर रहेको बताइएको छ।
सशस्त्र प्रहरीले बरामद गरिएको सामानलाई बिओपी भिस्वामा ल्याई आवश्यक प्रक्रिया पूरा गरी थप कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने तयारी गरेको जनाएको छ।
