डिएसपी भण्डारीको कमान्डमा पर्सामा संयुक्त छापामारी, करिब ६ लाख बराबरका सामान बरामद

समाचार

पर्सा, २५ असोज ।
जिल्ला पर्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलि गरी लुकाइ–छिपाइ राखिएका सामान बरामद गरेको छ।

विशेष सूचनाको आधारमा असोज २४ गते बिहान करिब ९ः३० बजे पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका–१ स्थित सुकुम्बासी टोल का विभिन्न घर र खेतमा छापा मारिएको हो।

उक्त अभियान प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ८३ जना सशस्त्र प्रहरीको टोली, ईलाका प्रहरी कार्यालय छपकैयाका प्रहरी बरिष्ठ नायब निरीक्षक मदन बहादुर मल्लको कमाण्डमा रहेका २० जना नेपाल प्रहरीको टोली, र बीरगञ्ज भन्सार कार्यालयका नायब सुब्बा गोबिन्द कडेलसहितका २ जना कर्मचारी सम्मिलित संयुक्त टोलिले सञ्चालन गरेको थियो।

छापामारीका क्रममा भन्सार छली चोरीपैठारी गरी भण्डारण गरिएको करिब रु. ५ लाख ९३ हजार २ सय ९५ बराबरका इलेक्ट्रोनिक सामान, जुत्ता र कपडाहरू नियन्त्रणमा लिइएका छन्। बरामद सबै सामानलाई आवश्यक प्रक्रिया पूरा गरी बीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार, सीमावर्ती क्षेत्रहरूमा भन्सार छलि तथा अवैध कारोबार नियन्त्रणका लागि नियमित रूपमा सूचना संकलन, गस्ती र छापामारी अभियानलाई थप प्रभावकारी बनाइएको छ।

स्थानीयवासीहरूले समेत पछिल्ला दिनमा सशस्त्र प्रहरी र भन्सार कार्यालयबीचको संयुक्त समन्वय र कार्यशैलीका कारण तस्करी नियन्त्रणमा सकारात्मक सुधार देखिएको प्रतिक्रिया दिएका छन्।

अधिकारीहरूले भनेका छन्, “सीमावर्ती क्षेत्रमा अवैध सामान भित्र्याउने गतिविधि रोक्न सुरक्षा निकायहरू बीच आपसी सहकार्य अझै सुदृढ पारिनेछ।”

यस कारवाहीले पर्सा क्षेत्रमा भन्सार छलि र तस्करीविरुद्ध सशस्त्र प्रहरी बलको प्रतिबद्धता पुनः सुदृढ भएको जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *