पीडित महिलालाई मानवीय सहयोग : जिल्ला स्तरीय लैङ्गिक हिंसा संजाल समितिद्वारा रु. ५० हजारको चेक हस्तान्तरण

समाचार

बिरगंज, ७ पुस ।
जिल्ला पर्सामा घटेको एक दुखद घटनापछि पीडित परिवारलाई राहत र सहयोग प्रदान गर्ने उद्देश्यले एकल महिलालाई आर्थिक सहयोग प्रदान गरिएको छ। जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. १० स्थित मारवाडी धर्मशालाको तेस्रो तल्ला, कोठा नं. १०४ मा कोठा भाडामा बस्दै आएकी पर्सागढी नगरपालिका वडा नं. ३ निवासी अन्दाजी २१ वर्षीया सुनिता तामाङको मिति २०८२।०८।२७ गते मृत अवस्थामा शव फेला परेको थियो।

उक्त घटनापछि मृतक सुनिता तामाङ (स्याङ्बो) को परिवारिक अवस्था अध्ययन गर्दा उहाँको घरमा एकल महिला आमा बाहेक अन्य कोही सदस्य नरहेको, साथै परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको पाइएको थियो। छोरीको असामयिक निधनले शोकमा डुबेको परिवारलाई केही भए पनि राहत मिलोस् भन्ने मानवीय संवेदनाका साथ जिल्ला स्तरीय लैङ्गिक हिंसा संजाल समिति सक्रिय भएको हो।

सोही क्रममा जिल्ला स्तरीय लैङ्गिक हिंसा संजाल समिति कोषबाट मृतककी आमा एकल महिला कान्छीमाया स्याङ्बोलाई नगद रु. ५०,००५।– (पच्चास हजार पाँच रुपैयाँ मात्र) बराबरको चेक प्रदान गरिएको छ। उक्त चेक जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकद्वारा कान्छीमाया स्याङ्बोलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पाठकले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै समाजका कमजोर, असहाय र पीडित वर्गलाई राज्य संयन्त्र र सम्बन्धित निकायले सक्दो सहयोग गर्नुपर्ने बताए। उनले यस्ता घटनामा पीडित परिवारलाई एक्लो महसुस हुन नदिन प्रहरी प्रशासन सधैं संवेदनशील र जिम्मेवार रहने प्रतिबद्धता समेत व्यक्त गरे।

स्थानीयवासी तथा सरोकारवालाहरूले पनि पीडित एकल महिलालाई गरिएको यो सहयोग सकारात्मक र प्रशंसनीय कदम भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता मानवीय सहयोगले पीडित परिवारलाई केही भए पनि राहत मिल्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि राज्यका निकायहरूले यस्तै संवेदनशीलता देखाउनुपर्नेमा जोड दिएका छन्।

घटनाको विषयमा आवश्यक अनुसन्धान प्रक्रिया भने कानून बमोजिम अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *