पर्सा, १० वैशाख । पर्साको वीरगञ्जस्थित शंकराचार्य गेट सीमा नाकामा अनाधिकृत व्यक्तिको प्रवेश तथा अवैध घुसपैठ नियन्त्रण गर्न कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। पर्सा प्रहरी, अध्यागमन कार्यालय पर्सा तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा क्षेत्रमा सघन चेकजाँच सुरु गरेको हो।
सुरक्षा निकायका अनुसार सीमा वारपार गर्ने व्यक्तिहरूले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात बोकेको हुनुपर्नेछ। नेपाली नागरिकले नागरिकता तथा भारतीय नागरिकले आधार कार्ड वा अन्य आधिकारिक परिचयपत्र साथमा राख्नुपर्ने बताइएको छ।
त्यसैगरी, तेस्रो मुलुक (थर्ड कन्ट्री) बाट आउने व्यक्तिहरूले पासपोर्ट र भिसा अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। आवश्यक कागजात बिना भेटिएका व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ।
सुरक्षा व्यवस्था कडाइसँगै अवैध गतिविधि, तस्करी, अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास लिइएको छ। सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षा निकायले निगरानी थप सुदृढ बनाएको जनाइएको छ।
