बारा, १३ जेठ । बारा प्रहरीले लागू औषध नियन्त्रण अभियान अन्तर्गत ४ किलो ४ सय ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मिति २०८३ जेठ १३ गते दिउँसो करिब ३:३० बजे अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहको कमान्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका–१४ खयरघारीमा छापा मारेको थियो।
प्रहरीले स्थानीय बिक्रम स्याङतानको सुत्ने कोठाभित्र बोरामा लुकाई–छिपाई राखिएको अवस्थामा ४.४०० किलोग्राम लागू औषध गाँजा बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा बिक्रम स्याङतानकी ४८ वर्षीया श्रीमती मित्रा देवी स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी स्याङतानविरुद्ध लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। सम्मानित बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिए।
