घरअगाडि पार्किङ गरिएको ट्रक रहस्यमय रूपमा हरायो, सहचालकमाथि आशंका

समाचार

बारा, साउन ४ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा घरअगाडि पार्किङ गरेर राखिएको एउटा खाली ट्रक रहस्यमय रूपमा हराएको छ। घटनामा ट्रकका सहचालकमाथि प्रारम्भिक आशंका गरिएको छ।

प्रहरीका अनुसार साउन ३ गते राति करिब ९ बजे स्थानीय अनोज थापाले आफ्नो घरअगाडि पार्किङ गरेर राखेको ना ६ ख १३५७ नम्बरको टाटा कम्पनीको खाली ट्रक सहचालकले कसैलाई जानकारी नदिई आफैं लिएर गएको र त्यसयता सम्पर्कविहीन भएको हो।

ट्रक फेला नपरेपछि चालक अनोज थापाले साउन ४ गते बिहान करिब ६:१० बजे इलाका प्रहरी कार्यालय पथलैयालाई जानकारी दिएका थिए। त्यसलगत्तै प्रहरी हवल्दार मोहरकुमार दासको नेतृत्वमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

प्रहरीले ट्रकको खोजी तीव्र पारिएको जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय पथलैयाबाट करिब ७०० मिटर पूर्वतर्फ पर्छ।

हराएको ट्रकका धनी जितपुरसिमरा उपमहानगरपालिका–१ निवासी सोम गुरुङ रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *