वीरगंज, ११ जेठ ।
जेष्ठ १० गते, जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज र रोट्रयाक्ट क्लब अफ वीरगंजको संयुक्त आयोजनामा “जिम्मेवार चालक म” भन्ने सन्देशसहितको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। अभियान अन्तर्गत वीरगंजका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनहरूमा ट्राफिक नियमको महत्त्व दर्शाउने स्टिकरहरू टाँस गर्ने कार्य गरिएको हो।
कार्यक्रमको उद्देश्य सडक सुरक्षाका मापदण्डहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउनु र चालकहरूलाई ट्राफिक नियमको पालना गर्न अभिप्रेरित गर्नु रहेको आयोजकहरूले जनाएका छन्।
“जिम्मेवार चालक म” भन्ने मूल नाराले चालकहरूमा जिम्मेवारीको भावना विकास गराउने र सडक दुर्घटनाको सम्भावना न्यूनीकरण गर्ने लक्ष्य लिएको पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले बताएका छन् ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रहरी निरीक्षकसहितका प्रहरी अधिकृतहरू, रोट्रयाक्ट क्लबका पदाधिकारीहरू तथा स्वयमसेवकहरू सक्रिय रुपमा सहभागी भएका थिए। उनीहरूले शहरका मुख्य चोक, व्यस्त सडक, सार्वजनिक यातायात तथा निजी सवारी साधनहरूमा स्टिकर टाँस गर्दै सडक सुरक्षा सन्देश प्रवाह गरेका थिए।
रोट्रयाक्ट क्लब अफ वीरगंजका अध्यक्षले भने, “समाजमा सुरक्षित यातायातको प्रवर्द्धन गर्नु हामी सबैको जिम्मेवारी हो। ट्राफिक प्रहरीको साथमा हामीले सवारी साधन चालकहरूलाई नियम पालना गर्न प्रेरित गर्न यो अभियान सञ्चालन गरेका हौं।”
कार्यक्रमको समापनमा ट्राफिक प्रहरी र क्लबका प्रतिनिधिहरूले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।
अभियानको सफलताप्रति सहभागीहरूले सन्तोष व्यक्त गर्दै यस्ता गतिविधिहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
