बारा, साउन २६। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोष्ट बसपार्क, कलैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले अबैध रुपमा राखिएका २८ वटा नयाँ सिलाइ मेसिन बरामद गरेको छ।
प्रहरी नायब निरीक्षक मेघराज प्रसाद साहको कमाण्डमा खटिएको टोलीले कलैया उप-महानगरपालिका–५ दरबारटोलस्थित नैमुदिन अंसारीको तिनतले पक्की घरको भुइँतलामा रहेको सटर कोठामा बिल भरपाई नभएका विभिन्न कम्पनीका नयाँ सिलाइ मेसिन बरामद गरेको हो। बरामद सामानको मुल्य करिब ३ लाख ६४ हजार रुपैयाँ हुने प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न आरोपमा जिल्ला बारा, कलैया उप-महानगरपालिका–१६ का ३० वर्षीय कलिम अंसारीलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
