काठमाडौँ, २३ असोज ।
काठमाडौँ महानगरपालिकाले अघि सारेको बहुसाझेदार डेङ्गु नियन्त्रण कार्यक्रम प्रभावकारी बनेको छ । महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यस वर्ष डेङ्गु संक्रमणको दर उल्लेखनीय रूपमा घटेको बताएका छन् ।
उनका अनुसार २०८० असारदेखि २०८१ साउन मसान्तसम्म महानगर क्षेत्रभित्र ३ हजार ५८६ जनामा डेङ्गु संक्रमण देखिएको थियो । सोही अवधिपछि २०८१ साउनदेखि २०८२ असारसम्म यो संख्या बढेर ५ हजार ६३७ पुगेको थियो । तर, चालू वर्षको साउनदेखि हालसम्म मात्र ३४९ जनामा संक्रमण देखिएको छ । शाहका अनुसार “मध्य बर्खाको समयमा संक्रमण ३५० जनाभित्र सीमित हुनु नियमित र प्रभावकारी अभियानको नतिजा हो ।”
महानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेवक, टोल विकास संस्था, स्थानीय संघ–संस्था, क्लब र नागरिक प्रतिनिधिसँग सहकार्य गर्दै लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ । साथै, र्यापिड रेस्पोन्स टिम (RRT) गठन गरी विरामीको उपचार, रोग पहिचान र परामर्श कार्यलाई पनि सशक्त बनाइएको छ ।
डेङ्गु नियन्त्रणका लागि माइकिङ् अभियान, विद्यालयस्तरमा जनचेतना कार्यक्रम, घर–घरमा जानकारी र सरसफाइ अभियान पनि निरन्तर चलाइएको छ ।
वातावरण व्यवस्थापन विभागले सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई सुदृढ बनाउँदै आएको छ भने स्वास्थ्य विभागले र्यापिड डायग्नोस्टिक टेस्ट (RDT), जीवन जल, सिटामोल लगायतका औषधि र टेलिफोनमार्फत चौबिसै घण्टा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइरहेको छ । नगर प्रहरी बलले लार्भिसाइड छर्कने काम गर्दै आएको छ ।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा बिरामीलाई आवश्यक रगत तथा रक्त तत्व निःशुल्क उपलब्ध गराइने र एम्बुलेन्स सेवा पनि निःशुल्क गरिएको छ ।
मेयर शाहले नागरिक स्वास्थ्य सुरक्षाप्रति महानगर गम्भीर र उत्तरदायी रहेको उल्लेख गर्दै भनेका छन्, “डेङ्गु नियन्त्रण केवल महानगरको प्रयासले सम्भव छैन, हरेक व्यक्तिले आफ्नो वरिपरिको वातावरण सफा राख्नु अत्यावश्यक छ।”
उनले संघ र प्रदेश सरकारसँग सहकार्यमा काम भइरहेको बताउँदै अन्त्यमा आह्वान गरे,
“अहिलेसम्म नियन्त्रणमा रहेको डेङ्गुको जोखिम बढ्न नदिन सबै मिलेर महामारी नियन्त्रण गरौँ।”
