बारा, ८ कार्तिक ।
सशस्त्र प्रहरी बल बाराले विभिन्न सीमा क्षेत्रहरूबाट करिब रु. ५ लाख ५० हजार ३०० बराबरका अवैध सामानहरू बरामद गरेको छ। उक्त कार्यवाही सशस्त्र प्रहरी बाराका प्रमुख एसपी खुमबहादुर केसीको नेतृत्वमा गरिएको हो।
सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार,
१. मिति २०८२/०७/०७ गते कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमा क्षेत्रमा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी हवलदार चक्रबहादुर साउदको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छली ल्याइँदै गरेको रु. ६७ हजार बराबरको किराना सामान बरामद गरेको छ।
२. सोही दिन साँझ ७:३५ बजेको समयमा सिम्रौनगढ नगरपालिका–७ कवलपुरमा प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नविन अधिकारीको कमाण्डमा खटिएको टोलीले भारतबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेको रु. १ लाख २४ हजार बराबरको मकैको बिउ र मोटरसाइकल बरामद गरेको छ।
३. यस्तै, पचरौता नगरपालिका–३ रामनगरमा बिओपी बेनौलिबाट सशस्त्र प्रहरी नायब निरीक्षक श्यामानन्द चमारको नेतृत्वमा खटिएको टोलीले भारतबाट ल्याइँदै गरेको रु. २ लाख ५ हजार ५०० बराबरको मैदा र मोटरसाइकल बरामद गरेको जनाएको छ।
४. त्यसैगरी, मिति २०८२/०७/०८ गते बिहान ४:४० बजे बिश्रामपुर गाउँपालिका–१ बहेरी खोला नजिक एफओबी छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शिवहरि खत्रीको टोलीले एक व्यक्तिले टाउकोमा बोकी ल्याइरहेको अवस्थामा रु. १ लाख ५३ हजार ८०० बराबरको कपडा बरामद गरेको हो। सो व्यक्तिले सामान फालेर फरार भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामानहरूलाई भन्सार प्रक्रिया पूरा गरी वीरगंज भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
स्रोत: सशस्त्र प्रहरी बल, बारा
