वीरगञ्ज ,२३ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैयास्थित सीमा क्षेत्रमा भारतबाट नेपाल भित्र्याउँदै गरिएको करिब ३ लाख रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित आतिसबाजी पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।
मिति २०८३ भदौ २३ गते भारतबाट तीन जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सम्राज्य खड्काको नेतृत्वमा बीओपी सिर्सियाबाट खटिएको गाडी मोबाइल टोलीलाई देखेपछि उनीहरूले पटका छाडेर फरार भएका थिए।
टोलीले घटनास्थलबाट प्रतिबन्धित आतिसबाजी पटका बरामद गरी बीओपी सिर्सियामा ल्याएको थियो। बरामद पटका आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सञ्चारकर्मी तथा स्थानीय भद्रभलाद्मीको रोहवरमा बीओपी सिर्सियाको परिसरभित्र खाडलमा पुरी पानी हालेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा प्रतिबन्धित सामग्रीको कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।
