बारा, भदौ २८। बाराको कलैया उपमहानगरपालिका–४ अदालत रोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
भदौ २७ गते राति करिब १० बजे कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको म.प्र.०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको BR05AV 6136 नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा म.प्र.०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल चालक करैयामाई गाउँपालिका–७ निवासी नागेन्द्र चौधरीका करिब ३५ वर्षीय छोरा डिके चौधरी गम्भीर घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलको पछाडि सवार करैयामाई गाउँपालिका–७ निवासी बिजेन्द्र चौधरीका १६ वर्षीय छोरा अन्जित चौधरी पनि घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, BR05AV 6136 नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–४ अदालत रोड निवासी करिब ३५ वर्षीय साहेब देवानलाई उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर लगिएको थियो। चिकित्सकले जाँच गर्ने क्रममा राति १०ः४० बजे उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनालगत्तै प्रहरी चौकी बसपार्क बाराबाट प्रहरी नायब निरीक्षक (प्रनानि) बिमलेश कुमार यादवको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न दुवै मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरी चौकी बसपार्कमा राखेको जनाएको छ।
घटनाको अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको थियो।
मृतक देवानको शव कानुनी प्रक्रिया पूरा गरी भदौ २८ गते बिहान ११ बजे पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। पोस्टमार्टमपछि दिउँसो १ः०५ बजे मृतकका मामा नुरुल होदा देवानले शव बुझी लगेको बारा प्रहरीले जनाएको छ।
