बिरगंज ,१८ चैत ।
मुस्लिम धर्मावलम्बीहरूले एक महिनासम्म निर्जल व्रत (रोजा) बसेर रमजान महिना पूरा गरेपछि आज चैत १८ गते इद-उल-फित्र उल्लासपूर्वक मनाएका छन्। इस्लाम धर्मअनुसार बिहान ४ बजे भोजन (सहरी) गरेर निर्जल व्रत सुरु गर्ने र साँझ ६ बजे भोजन (इफ्तारी) गर्ने परम्परा अनुसार रोजा समाप्त भएको छ।
इद-उल-फित्रका अवसरमा मुस्लिम समुदायले बिहान विशेष नमाज (२ रकात वाजिब) अदा गरी इद मनाएका छन्। पर्सा जिल्लाका गाउँ तथा शहरहरूमा मुस्लिम समुदायले मस्जिद र इदगाह क्षेत्रमा प्रवेशद्वार निर्माण गरी झिलिमिली सजावट गरेका छन्।
वीरगञ्ज महानगरपालिकाको छपकैया, लाठगल्ली, मुर्ली, बहुअरी, इनर्वा, श्रीपुर लगायतका स्थानहरूमा विशेष सजावट तथा स्वागतद्वारहरू निर्माण गरिएको छ। इदको अवसरमा मुस्लिम समुदायले एकअर्कालाई शुभकामना आदान-प्रदान गर्दै भाइचारा र सद्भाव दर्शाएका छन्।
