वीरगञ्ज, २२ चैत ।
जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीलाई विचौलिया मुक्त, छिटो, सरल तथा सहज सेवा उपलब्ध गराउने सम्बन्धमा सूचना जारी गरेको छ।
कार्यालयका अनुसार पर्सा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा नियमित रूपमा विचौलिया मुक्त ढंगले सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ। सेवाग्राहीले कुनै पनि बिचौलियाको सहारा नलिई प्रत्यक्ष रूपमा सेवा लिन सक्ने व्यवस्था कायम गरिएको प्रशासनले जनाएको छ।
सूचनामार्फत जिल्लाभित्र रहेका सबै सरकारी कार्यालयहरूलाई समेत आफ्ना सेवाहरू विचौलिया मुक्त बनाउन निर्देशन दिइएको छ। यसका लागि सम्बन्धित कार्यालय प्रमुखहरूलाई विशेष अनुरोध गरिएको प्रशासनले स्पष्ट पारेको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित अन्य कार्यालय परिसर वरिपरि सेवाग्राहीलाई सहयोग गर्ने नाममा गैरकानूनी रूपमा रकम असुल गर्ने गतिविधि भएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ। यस्तो कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
प्रशासकीय अधिकृत रेखा कुमारीद्वारा जारी सूचनामा सेवाग्राहीलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्न प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
